झापा-बिर्तामोड नगरपालिकाले वडा नम्बर २ मा ८० थान त्रिपाल वितरण गरेको छ । शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले घरको छाना उडाएर विचल्लीमा परेका ७० घर परिवारलाई आइतवार राहतस्वरुप त्रिपाल वितरण गरिएको हो ।
६० थान बिर्तामोड नगरपालिका र २० थान नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको सहयोगमा गरी ८० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरिएको छ । पीडितलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गरेकी छन् ।
नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेका लागि त्रिपाल वितरण गरिएको बताइन् । नगर प्रमुख प्रसाईले आइतबार विहान वडा नम्बर २ का विभिन्न टोलमा पुगेर कृषिमा भएको क्षतिको अनुगमन गरेकी थिइन् ।
हावाहुरीले बिर्तामोड २ मा ७० वटा घर र ४२ वटा गाईगोठमा क्षति पुगेको छ । यस्तै ९० विघा भन्दाबढी जग्गामा रहेको मकै तथा तरकारीवाली नष्ट भएको वडाअध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
त्रिपाल वितरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा सदस्यहरु ओमनाथ गौतम, चेतन विमली लगायत स्थानीय विभिन्न टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले १० वटै वडामा भएको क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।