बिर्तामोड- बिर्तामोड नगरपालिकाले बिहीवार नगरका तीनजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।
उत्कष्ट शिक्षक पुरस्कार प्राप्त गर्नेहरुमा मावितर्फ दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिकतर्फ जनता प्राविका डिल्लीरमण भट्टराई छन् ।
उत्कृष्ट शिक्षकलाई सम्मानपत्रसहित जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको हो ।
नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए ।
अघिल्लो वर्ष शेरबहादुर श्रेष्ठ, जनक थापा र श्याम दाहालले उक्त पुरस्कार प्राप्त गरेका थिए ।कार्यक्रममा २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित विदाई गरिएको छ ।
कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बर बहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेशप्रसाद आचार्य र केशरबहादुर खवासलाई सम्मान गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले पुरस्कृत एवम् सम्मानित हुनेहरुलाई अविर लगाएर सम्मान पत्र प्रदान गरेका छन् ।
नगर प्रमुख प्रसाईले आगामी दिनमा नीजि र सामुदायिक दुवै क्षेत्रका उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने घोषणा गरेकी छन् । कार्यक्रम सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको थियो ।