१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाँच जना स्रष्टा सर्जकलाई अभिनन्दन गर्ने साहित्य चौतारीको निर्णय



बिर्तामोड-साहित्य चौतारी झापाले विभिन्न स्रष्टा सर्जकलाई अभिनन्दन गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले पाँचजना व्यक्तित्वलाई अभिनन्दन गर्ने निर्णय गरेको हो ।

होटल हिकोला हेरिटेज काँकरभिट्टाको वार्षिक उत्सवसँगै साहित्य चौतारीको मासिक साङ्गीतिक काव्य सभाको अवसर पारेर स्रष्टा सर्जकलाई अभिनन्दन गर्ने निर्णय भएको छ ।

साहित्य चौतारीका संस्थापक संरक्षक समेत रहेका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो । बैठकले भीमलाल सापकोटा, युवराज काफ्ले, मुक्ति उपाध्याय बराललाई अभिनन्दन गर्ने निर्णय गरेको सचिव गौरव श्रेष्ठले बताउनुभयो ।

बैठकले साहित्य चौतारीका संस्थापक सदस्यहरू भक्त खपाङ्गी र बिमला तुमखेवालाई पनि अभिनन्दन गर्ने निर्णय गरेको छ । कार्यक्रममा साहित्यकार हरिनारायण भट्टराई प्रमुख अतिथि रहनुहुनेछ।

साहित्य चौतारीले रजत महोत्सव महाअभियान अन्तर्गत विभिन्न स्रष्टा सर्जकलाई साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा गरेको योगदान स्वरूप निरन्तर अभिनन्दन गर्दै आएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार माघ २६ गते होटल हिकोला हेरिटेज काँकरभिट्टाको वार्षिक उत्सव पनि मनाइनेछ । सोही कार्यक्रमका बीच श्रष्टाहरूलाई अभिनन्दन गर्ने तयारी भएको हो । कार्यक्रममा अरुणा लामाको स्मृतिमा सांगीतिक प्रस्तुतिहरू रहनेछन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  १० : ३३ बजे