कनकाई-झापाको कनकाईस्थित माइधारमा स्थापित पीसीआर परीक्षण प्रयोगशाला मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणयता प्रयोगविहीन भएको प्रयोगशाला अस्पताललाई हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमण उच्च विन्दुमा पुगेका बेला समुदाय तहबाट संगठित भएको ‘एकका लागि एक अभियान’ को अग्रसरतामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएको थियो ।
‘एकका लागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले कोरोना संक्रमण नियन्त्रण भइसकेकाले पूर्व सहमति अनुसार प्रादेशिक अस्पताललाई प्रयोगशाला हस्तान्तरण गरिएको बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहवरमा अभियानका संयोजक गिरीले प्रादेशिक अस्पतालका ल्याव इन्चार्ज जितेन्द्र झालाई प्रयोगशालाका सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना संक्रमणका बेला प्रयोगशालामा ४८ हजार भन्दाबढी संक्रमितको परीक्षण गरिएको थियो ।