मोरङ-नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी दासको हत्यामा उनकै पूर्व प्रेमीको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्व प्रेमी शिवशंकर दासले उनको हत्या गरेको मोरङ प्रहरीले जनाएको हो ।
प्रेमिकाको हत्यापछि दासले समेत आत्महत्या गरेको भेटिएको छ । आइतबार राति विराटनगरको एउटा होटलमा झुन्डिएको अवस्थामा दासको शव फेला परेको हो ।
चन्द्रिकाको हत्या भएको स्थानभन्दा ३०० मिटर पर फाइन होटलको १०२ नम्बर कोठामा दास झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
तीन दिनअघि चन्द्रिकाको शव विराटनगर ४ मा रहेको डेराको बाथरूममा भेटिएको थियो । सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि शिवशंकर फरार भएका थिए ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका शिवशंकरले प्रेममा धोका दिएको भन्दै चन्द्रिकाको हत्या गरेका हुन् । अरु युवकसँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि उनी नेपाल आएका थिए ।