११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

युवालाई उद्यमशील बनाउन जरुरी : एमाले अध्यक्ष ओली



बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक लगानी र व्यवस्थापनमा गर्न सकिने व्यावसायिक परियोजनाहरूमा युवाहरूको सहभागिता बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

मङ्गलबार झापाको शिवसताक्षी-४ सालमारामा झापा इनर्जी लिमिटेडले निर्माण गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत परियोजनाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले युवाहरुलाई उद्यमशील बनाउन जरुरी भएको बताउनुभयो ।

अधिकांश युवा जागिर खाने मनस्थितिमा रहेको जनाउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अब जागिर होइन उद्यमी बन्न युवाहरूलाई प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो।

सामूहिक लगानी र व्यवस्थापनमा आय आर्जन हुने खालका परियोजनाहरूमा लगानी गर्न सके आर्थिक विकास र समृद्धिका लागि धेरै समय नलाग्ने एमाले अध्यक्ष ओलीको तर्क छ ।

ऊर्जाको प्रयोगमार्फत कृषिमा आधुनिककरण सकिने बताउँदै एमाले अध्यक्ष ओलीले युवाहरूको विदेश पलायन रोक्न सरकारले व्यावसायिक योजना बनाएर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ००:००  ६ : ०७ बजे