२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

कृषि थोक बजारको निर्वाचन नरोक्न एमालेको चेतावनी



बिर्तामोड– नेकपा एमाले झापाले कृषि थोक बजार व्यवस्थापन समितिको निर्वाचन नरोक्न चेतावनी दिएको छ । बुधबार विज्ञप्ति जारी गरी एमालेले कानूनविपरीत निर्वाचन नरोक्न सम्बन्धित पक्षलाई सचेत गराएको हो ।

एमाले झापाका सचिव शिव ढुंगेलले निर्वाचन प्रक्रिया अघि नबढाए आन्दोलनसहित कानूनी उपचारको बाटो अवलम्बन गरिने चेतावनी दिनुभयो ।

कृषक तथा व्यापारीमाथि पर्ने मर्काप्रति आफूहरू सचेत रहेको जनाउँदै सचिव ढुंगेलले व्यावसायिक हितका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

माघ २२ गते निर्वाचन गर्ने सन्दर्भमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकजना फर्जी मतदाता भेटिएपछि हुलहुज्जत र कुर्सी तोडफोड गरी निर्वाचन स्थगित गरिएको थियो ।

बुधबार निर्वाचन प्रक्रिया अगाडि बढाउने भनिए पनि नेपाली कांग्रेस निकटको सत्ता गठबन्धन र राप्रपाको समेत निर्णयका आधारमा अनिश्चितकालीन रुपमा षड्यन्त्रमूलक ढंगले निर्वाचन स्थगित गरिएको एमालेको दाबी छ ।

सचिव ढुंगेलले अविलम्ब आफ्नो निर्णय सच्याउन निर्वाचन समितिलाई आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ००:००  ८ : ३१ बजे