झापा-नेपालबाट घिउ निर्यातको सम्भावना बढेको छ । प्रयोगका रुपमा नेपालले विभिन्न पाँचवटा मुलुकमा घिउ निर्यात गरिरहेको हो । यसलाई अझै बढाउँदै लैजानु पर्नेमा सरकारी अधिकारीहरुको जोड छ ।
नेपाल दुग्ध विकास संस्थान डीडीसीले नेपालबाट नियमित रुपमा घिउ निर्यात गर्छ । पछिल्लो वर्षमा नेपालबाट पाँचवटा मुलुकमा घिउ निर्यात भइरहेको छ । मासिक पाँच हजार लिटर घिउ नेपालबाट निर्यात भइरहेको संस्थानले जनाएको हो ।
चालु आर्थिक वर्षको भदौसम्ममा नेपालले करिव ६० लाख रुपैयाँको घिउ निर्यात गरेको छ । यसमा भारतीय बजारको हिस्सा ठूलो छ । अष्ट्रेलियामा पनि तीन लाख ५७ हजार रुपैयाँको एक हजार ६१६ किलो घिउ निर्यात भएको छ ।
भारत, जापान, क्यानाडा, हङकङ र अष्ट्रेलिया लगायतका मुलुकमा नेपालले घिउ बेचिरहेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत तीन आर्थिक वर्षमा नेपालले करिव चार करोड २७ बराबरको घिउ निर्यात गरेको छ ।