१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडका विद्यार्थी धान रोपाईंको व्यवहारिक र प्रयोगात्मक अभ्यासमा



बिर्तामोड- बिर्तामोड नगर क्षेत्रमा रहेका विभिन्न विद्यालयका बाल क्लवले आफ्नै सक्रियतामा धान दिवस मनाएका छन् ।

नगरपालिकाको कृषि शाखासँग समन्वय गरी बाल क्लवका विद्यार्थी धान रोपाईंमा सहभागी भएका हुन् । पहिलोपटक हिलोमा पसेका विद्यार्थीको आफ्नै रोचक अनुभव छ ।

‘मैले पहिलो पटक हिलोमा पसेर धानको बीउ समाएँ’, रोपाईंमा सहभागी विद्यार्थी रोनिषा दाहालले भनिन्, ‘धान उत्पादन गर्न कति मेहनत पर्दाेरहेछ भनेर थाहा पाउने अवसर मिलेको छ ।’

खेती किसानीमा युवा पुस्ताको सहभागिता घट्दै गइरहेका बेला झापाको बिर्तामोडमा रहेका विभिन्न बाल क्लवका विद्यार्थी आफैँ धान रोपाईंमा सक्रिय भएका हुन् ।

अर्का विद्यार्थी मिराज गिरीले आफूले गाउँमा हजुरवा हजुरआमासँग पहिलो पनि धान रोपेको अनुभव सुनाए । उनले आफ्ना धेरै साथीलाई धान रोप्न नआएको र उनीहरुले हिलो मात्रै खेलेको बताए ।

बिर्तामोड नगरपालिकाको कृषि शाखाको समन्वयमा वडा नम्वर २ ले आयोजना गरेको धान रोपाईं कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयमा रहेका एकदर्जन बाल क्लवका एकसय भन्दाढी विद्यार्थी सहभागी भएका थिए ।

पहिलोपटक हिलोमा पसेर धान रोप्दा केही असजिलो भए पनि यसले व्यवहारिक सिकाईमा सघाएको विद्यार्थी मिनिषा लेप्चाको अनुभव छ ।

रोपाईंमा सहभागी अर्की विद्यार्थी हेमा राजवंशी सामूहिक रुपमा काम गर्दा थोरै समयमा धेरै काम गर्न सकिने बताउँछिन् । उनले समूह कार्यमा सहभागी हुन पाउँदा नौलो अनुभव भएको बताइन् ।

राष्ट्रिय धान दिवसको चर्चा हुने भए पनि विद्यार्थीमा व्यवहारिक ज्ञान र अनुभव छैन् । शिक्षण अभ्यासमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै दिइने गरेको छ ।

व्यवहारिक ज्ञान र सीपको विकास गर्न सके मात्र दक्ष जनशक्ति उत्पादन हुने भएकाले राष्ट्रिय महत्वका पर्वहरुमा विद्यार्थीलाई कुनै न कुनै रुपमा सहभागी गराउनु पर्ने अवस्था आएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं बताउँछन् ।

नयाँ उज्यालो बाल क्लवको अग्रसरतामा हिलोमा धान रोप्न तम्तयार भएका विद्यार्थीले व्यवहारिक ज्ञान सिक्न पाएकोमा खुशी प्रकट गरेका छन् । धान रोपाईंसँगै हिलोमा खेल्न पाउँदा बेग्दै आनन्द अनुभूत भएको उनीहरुको धारणा छ ।

धान रोपाईंको सामूहिक अभ्यासमा सहभागी हुँदा नयाँ र व्यवहारिक ज्ञान मिल्ने विद्यार्थी श्रेयन्सी कार्कीले बताइन् । विषयप्रति विद्यार्थीको बुझाईमा परिवर्तन ल्याउन पनि प्रयोगात्मक अभ्यासको खाँचो पर्छ । त्यही अभ्यासलाई व्यवहारमा बदल्न सके मात्र विद्यार्थीले अपेक्षाकृत नतिजा हासिल गर्न सक्छन् ।

विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिनका लागि कार्यस्थलमा लैजानुको विकल्प नहुने भएकाले उनीहरुलाई सामूहिक धान रोपाईंको काममा सहभागी गराइएको वडाध्यक्ष किशोरकुमार पौडेलले बताए ।

आफ्ना अभिभावकसँगै रोपाईंमा सहभागी भएका विद्यार्थीलाई खेती किसानीका दुःख मात्र होइन, उत्पादन बढाउने व्यवहारिक पाटोका विषयमा पनि ज्ञान दिने प्रयास गरिएको छ । यसले विद्यार्थीको सिर्जनशील क्षमता विकासमा सघाउने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार ००:००  १२ : ०२ बजे