१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकप : घरेलु मैदानमा झापा ११ ले मकवानपुरलाई स्तब्ध बनायो



बिर्तामोड– झापा ११ एफसी झापा गोल्डकप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो ।

झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक गोल गरेका छन् । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलको २५ औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरेपछि घरेलु मैदानका दर्शकमा एकाएक खुशी छायो ।

६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरेपछि दर्शक दीर्घामा थप उत्साह थपियो । दीपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रणमा लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपीले अगाडि बढेर बचाउन गरेको प्रयासले सफलता पाउन सकेन

मकवानपुरका ओस्कारले ६९ औँ मिनेटमा एक गोल फर्काएका छन् । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि खेलमा झापा ११ हाबी भयो ।

खेलको ८३ औँ मिनेटमा प्रदीप बुढाथोकीले तेस्रो गोल गरेका छन् । मैदान प्रवेश गरेको एक मिनेट नहुँदै बुढाथोकी गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनलाई गोल गर्ने अवसर प्राप्त भयो ।

झापाका लागि चौथो गोल बबिन बोहराले गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुकिरहे । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो ।

खेलको १८ औँ मिनेटमा झापाले गोल गर्ने अवसर गुमायो । ४४ औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे । ४८ औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३ औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो ।

खेलको ६२औँ मिनेटमा मकवानपुरले अवसर बनाएपछि बक्सबाहिरबाट कप्तान सुरजले हानेको फ्रिकिक प्रहार सटिक रहेन । यो खेलसँगै सेमिफाइनल समीरकण पूरा भएको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्ने छन् । यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चारपटक उपाधि जितिसकेको छ ।

मनाङ मर्स्याङदी क्लब एक पटकको विजेता हो । बिहीवारको खेलको प्लेयर अफ द म्याच विजेता टीम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भएका छन् । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाएका छन् ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टीम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शकको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्ने गरी तयारी गरिएको उनको दाबी छ ।

पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्णरुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टीमका महत्वपूर्ण तीनजना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार ००:००  ९ : २९ बजे