१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

ओम साई पाथिभरा हस्पिटल झापा लिगको प्रायोजक



भद्रपुर-अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल झापा लिगको मुख्य प्रायोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो ।

दुई हप्ताभन्दा लामो समयसम्म चल्ने प्रतियोगिताको नाम ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग हुने भएको छ ।प्रथम झापा लिगसँग जोडिन पाउँदा आफूलाई गौरव लागेको हस्पिटलका अध्यक्ष दीपक पोखरेलले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १७ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

झापाका १५ वटा पालिका र आयोजक गरी प्रतियोगितामा १६ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टीमलाई चार समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ८ : ३२ बजे