२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

झापा गोल्डकप : आर्मीलाई हराउँदै सशस्त्र प्रहरी फाइनलमा



झापा-सशस्त्र प्रहरीको एपीएफ फुटवल क्लव बिर्तामोडमा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै सशस्त्र फाइनलमा प्रवेश गरेको हो ।

त्रिभुवन आर्मी पहिलोपटक झापा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ । यसअघि आर्मीले चारपटक झापा गोल्डकपको उपाधि जितेको थियो । एकपटक मनाङ मस्र्याङदीसँग फाइनल हारेको आर्मी जारी यो सिजनमा भने अभागी सावित भयो ।

खेल अवधिभर सशस्त्रको तीव्र दवाव सामना गरेको त्रिभुवन आर्मीले हारलाई भने प्राविधिक रुपमा लिएको छ । आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको प्रतिक्रिया दिए ।

दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको प्रशिक्षक केसीको दावी छ । जितसँगै सशस्त्रले कम्तीमा सात लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।

आर्मीको आत्मघाती गोलको उपहारबाट सशस्त्रले फाइनल यात्रा गरेको हो । सशस्त्रका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो ।

फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन ।

खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । शनिवारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको बताए । डिफेन्डर र फरवार्डको प्रदर्शन सन्तोषजनक रहेको उनले बताए । दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ००:००  ६ : २४ बजे