७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

सभापति पाएपछि सत्तामा लोभियो राप्रपा, कोसी प्रदेशमा सभामुख लिन तयार



झापा-भागवण्डाको राजनीतिमा नलाग्ने बताउँदै आएको राप्रपा अन्तत त्यहीबाटो हिँड्न राजी भएको छ । तर, राप्रपा नेताहरु तत्काल यो मान्न तयार छैनन् ।

कोसी प्रदेशको सत्ता समीकरणमा भागवण्डा लिने गरी राप्रपा सत्ता गठबन्धनमा सामेल हुन लागेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मुलकबाहिर छन् । यद्यपि, उनले जिम्मेवारी सुम्पिएका दुई नेता उपाध्यक्ष बुद्धिमान तामाङ र विक्रम पाण्डे लुसुक्क बालुवाटार छिरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्ताले सहमतिको नयाँ ढोका खोलेको छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो दलले पाएको एउटा समितिको सभापति राप्रपालाई दिन सकारात्मक देखिए लगत्तै राप्रपा सत्ता गठबन्धनमा जान लोभिएको हो ।

माओवादीले पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएको छ । राप्रपाबाट दीपकबहादुर सिंहले सभापतिमा उमेद्वारी दिएका छन् । उनको समर्थमा माओवादी केन्द्रका सांसद माधव सापकोटा उभिएका छन् । कसैको उमेद्वारी नपरेपछि सिंह निर्विरोध जस्तै छन् ।

राप्रपाले तत्काल कोसी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउनेछ । एक नेता भन्छन्, ‘कोसीमा सभामुख र एउटा मन्त्री लिने सहमति राप्रपासँग भएको छ ।’ यसले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारको संकट टर्ने छ ।

आइतबार गठबन्धन र राप्रपाबीच भएको सहमतिमा कुनै नाटकीय फेरबदल नभए राप्रपा अब सत्ता गठबन्धनमै सामेल हुनेछ। यसको अर्थ राप्रपाले एमालेको साथ प्रदेशमा छाड्नेछ । यस्तो अवस्थामा गठबन्धनसँग ५३ मत हुनेछ ।

तर, राप्रपा उपाध्यक्ष पाण्डे कुनै सहमति नभएको बरु सरकारसँग संवादको वातावरण मिलेको दावी गर्छन् ।

काठमाडौंमा सहमति भएर संसदीय समितिको साझा उम्मेदवार पाइसक्दा पनि राप्रपा प्रदेशका नेता भक्तिप्रसाद सिटौला पनि कुनै सहमति नभएको दावी गरिरहेका छन् ।

माओवादी नेताहरु भने कोसी प्रदेशमा सभामुख र एक मन्त्री लिने गरी सत्ता गठबन्धनलाई सघाउन राप्रपा तयार भएको बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  १० : ०२ बजे