५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

बजारमा छोइसक्नु छैन् टमाटर, हरियो तरकारी नबिकेर व्यवसायी हैरान



बिर्तामोड-नेपालमा उत्पादित टमाटर भारत जान थालेपछि स्थानीय बजारमा भाउ अचाक्ली बढेको छ । साता यता टमाटरको भाउ आकासिएको हो ।

तीनदिनअघि प्रतिकिलो १२० रुपैयाँमा बिक्री भएको टमाटर बुधवार बिर्तामोडको कृषि थोक बजारका व्यापारीले १८० रुपैयाँसम्म बेचेका छन् । एक दुई दिनभित्रै टमाटरको भाउ २०० नाघ्ने तरकारी व्यवसायी भुषण साहले बताए ।

भारतमा नेपाली उत्पादनको माग अत्याधिक छ । भारतमा प्रतिकिलो २०० भारतीय रुपैयाँका दरले टमाटर बिक्री भइरहेकाले स्थानीय बजारमा अभाव हुने गरी भाउ बढेको साह बताउँछन् ।

पाँचथरको अमरपुरमा उत्पादित टमाटरले कृषिथोक बजारमा भाउ पाइरहेको छ । उपभोक्ताले टमाटरको भाउ छोइनसक्नु भएको बताएका छन् । ‘अब टमाटरको अचार मात्रै खाने हो’, उपभोक्ता सावित्री वर्देवाले भनिन्, ‘भाउ बढेर किन्न सकिएन ।’

कृषिथोक बजारमा हरियो सागसब्जीको बिक्री पनि घटेको छ । मुन्टा, रायो साग लगायतका सागसब्जी नबिकेको तरकारी व्यवसायी चन्द्रप्रसाद ढकालले बताए । ‘माग भन्दा आयात धेरै भएकाले पनि हरियो सागसब्जी बिकेको छैन्’, व्यवसायी ढकालले भने ।

व्यवसायी ढकालले दैनिक दुईदेखि तीन हजार मुठा हरियो सागसब्जी बेच्दै आएका थिए । तर, अहिले तरकारी नबिकेर उनी हैरान छन् ।

तरकारीको होलसेल व्यापार गर्दै आएका ढकाल आर्थिक मन्दीको प्रभाव तरकारी बजारमा पनि परेको बताउँछन् । ‘उत्पादन बढे पनि बिक्री बढ्न सकिरहेको छैन्’, ढकालले भने, ‘अहिले भाउ बढेको भनेको टमाटरको मात्रै हो ।’

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ००:००  ९ : ४२ बजे