मोरङ- शिशु बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध मोरङ प्रहरीले तीनवटा मुद्दा दायर गरेको छ । विराटनगर–९ मा रहेको ग्रीनक्रस अस्पतालमा जन्मिएको शिशु बेचिएको घटनामा संलग्नविरुद्ध मुद्दा चलाइएको हो ।
शिशु बेच्ने घटनामा संलग्न भएको अभियोगमा प्रहरीले वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्णसहित ६ जनाविरु मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकोमा नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढीका गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी सुधा भनिने सुक्रि राजवंशी, सूर्यनारायण राजवंशी र दिलमनीदेवी राजवंशी रहेका छन् ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरीले संगठित अपराधमा मुद्दा दायर गर्न राय दिएको थियो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा प्रतिवादीहरुको बयान मंगलबारबाट सुरु हुनेछ । अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।