१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सशस्त्र प्रहरीद्वारा सीमा स्तम्भमा रंग लगाउन सुरु




झापा– कोशी प्रदेशमा नेपाल तथा भारतबीच रहेका सीमा स्तम्भहरुको मर्मत सुरु गरिएको छ ।सशस्त्र प्रहरीको प्राविधिक टोलीले सोमबारदेखि सीमा स्तम्भमा रंग लगाउन थालेको हो ।

झापाको मेचीनगर नगरपालिका ७, सतिघट्टास्थित सीमा स्तम्भ ५५ अन्तर्गतको पिलरमा रङरोगन गरेर काम प्रारम्भ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा भारतसँग ४३० किलोमिटर लामो खुला सीमामा ९५७ वटा सीमास्तम्भ छन् । नेपाल र भारतको सीमा कार्यदलबीच जोर अंकका सीमास्तम्भको मर्मत भारतीय पक्षले र बिजोर अंकको सीमा स्तम्भको मर्मत नेपाली पक्षले गर्ने सहमति छ ।

सहमति अनुसार नेपाली पक्षले बिजोर अंक भएका ३१७ सीमा स्तम्भको मर्मत गर्नेछ । सीमा सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनीकुमार पोखरेलले बताए ।

सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भको सुरक्षा र मर्मतको जिम्मेवारी दिएको हो । झापापछि क्रमशः मोरङ र सुनसरीका सीमा स्तम्भ पनि मर्मत गरिने जनाइएको छ । झापाका ५५ स्थानमा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ६ : १७ बजे