५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

लोक गायक जोशीलाई मनोजबाबु स्मृति पुरस्कार



बिर्तामोड– नारायण गोपाल स्मृति प्रतिष्ठानले लोक गायक एलपी जोशीलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । मंगलवार ३३ औँ नारायण गोपाल स्मृति साँझको अवसरमा आयोजित विशेष समारोहका बीच प्रतिष्ठानले लोक गायक जोशीलाई उक्त पुरस्कार दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार दिनेशहरि अधिकारीले बिर्तामोडमा ८८ वर्षीय लोक गायक जोशीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । पुरस्कारका दाता अनिरुद्र ओली र धर्मपत्नी नन्दाले लोक गायक जोशीलाई नगद हस्तान्तरण गरेका छन् ।

ओली दम्पत्तिले आफ्नो दिवङ्गत छोरा मनोजबाबुको स्मृतिमा स्थापना गरेको पुरस्कार पहिलोपटक गायक जोशीलाई प्रदान गरिएको हो । पुरस्कार स्थापनाका लागि ओली परिवारले सात महिनाअघि नारायण गोपाल स्मृति प्रतिष्ठानलाई तीन लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

हरेक वर्ष स्रष्टा सर्जकलाई पुरस्कृत गर्ने उद्देश्यले छोराको स्मृतिमा प्रतिष्ठानमा अक्षय कोष राखिएको पुरस्कारका दाता ओलीले बताए । शिक्षण सेवामा लामो समय बिताएका ओली आफैँ लोक गायक पनि हुन् । ओली दम्पत्तिले कार्यक्रममा एक जना मिर्गाैला पीडितलाई १० हजार रुपैयाँ पनि सहयोग गरेका छन् ।

२०४५ असार २५ गते तेह्रथुममा जन्मिएका मनोजबाबुको कोरोना संक्रमणका कारण २०७८ जेठ ११ गते अल्पायुमा निधन भएको थियो । पुत्र वियोगको पीडामा रहेका ओली दम्पत्तिले छोराको स्मृतिमा पुरस्कार राखेका हुन् । ।

ओली दम्पत्तिले कनकाई प्रतिभा प्रतिष्ठानमा पनि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रतिष्ठानमार्फत मनोजबाबु ओली स्मृति पुरस्कार कोष स्थापनाका लागि गत जेठमा ओली दम्पत्तिले उक्त रकम प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ००:००  ६ : १७ बजे