१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकपले दियो डोमालालको परिवारलाई एक लाख



झापा- झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई सो नगद प्रदान गरिएको हो ।

समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका हुन् । अध्यक्ष बस्नेतले सहयोगी प्रसाई दम्पत्तिलाई धन्यवाद दिएका छन् । यसअघि झापा गोल्डकपले जग्गादाता राजवंशीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

यसअघि राजवंशी विकास प्रतिष्ठानले कम्तीमा पाँच लाख रुपैयाँ उपलव्ध गराउनु पर्नेलगायतका माग राखेको सचिव इन्द्रसिंह राजवंशीले बताए ।

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विघा जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  २ : ११ बजे