बिर्तामोड–स्वीकारोक्ति फाउण्डेसनले ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ सुरु गरेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट सोमवारदेखि यात्रा सुरु भएको हो ।
‘अस्तित्वहरुको न्यायिक सम्वोधन’ भन्ने मूल मान्यतालाई आत्मसात गरेको फाउण्डेसनले यात्राका क्रममा वातावरण संरक्षण गर्दै शान्तिको सन्देश प्रवाह गर्नेछ । यात्रा यसवर्ष नेपाल र भारतमा केन्द्रीत रहनेछ ।
यात्राका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार यात्राका क्रममा युवा शैक्षिक शिखर सम्मेलन, बृहत साहित्यिक जमघट, स्रष्टा सम्मान लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
स्वीकारोक्ति फाउण्डेसनका अन्तर्राष्ट्रिय समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले यात्राका क्रममा महत्वपूर्ण, ऐतिहासिक र पृथक कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राजधानीमा युवा शैक्षिक शिखर सम्मेलन उद्घाटन गर्नेछन् ।
झापा, मोरङ, सुनसरी, इलाम हुँदै स्वीकारोक्ति फाउण्डेसनको यात्रा भारतको आसाम, सिक्किम दार्जीलिङ लगायतका क्षेत्रमा पनि पुग्ने फाउण्डेसनका अध्यक्ष डेनजोम साम्पाङले बताए ।
फाउण्डेसनले भारतको आसामस्थित गुवाटी पुगेर नपाली साहित्यका शिखर व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गर्ने आयोजना प्रमुख गुरुङले बताए । पुरस्कारको राशि नेपाली ६ लाख रुपैयाँ छ ।
यात्राका क्रममा झापाको बिर्तामोडमा पनि साहित्यिक कार्यक्रम राखिएको छ । कार्यक्रममा कवि नवराज पराजुली, गजलकार प्रदीप रोदन लगायतको प्रस्तुति रहनेछ । विद्यार्थीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको गुरुङले बताए ।