५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

१५ करोडको लागतमा बन्न लागेको बिर्तामोड नगर अस्पतालको भवन शिलान्यास



झापा– बिर्तामोड नगर अस्पतालको हाताभित्र अर्काे अत्याधुनिक भवन निर्माण हुने भएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने गरी नयाँ भवन बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार व्यवस्थापन भएपछि मात्रै नगर अस्पतालको सेवा विस्तार गर्न सकिने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

मेयर प्रसाईले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नगरले काम गरिरहेको जनाउँदै नगर अस्पतालकाे सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइँदै लैजाने बताइन् ।

बिहीवार बिहान अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच नगर अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । भवनको नगर प्रमुख प्रसाईले शिलान्यास गरेकी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेका अनुसार संघीय सरकारले उपलब्ध गराएको १५ कराेड रुपैयाँकाे लागतमा नगर अस्पतालको नयाँ भवन निर्माण हुन लागेको हो ।

विभाष इन्टरनेशनल काठमाडौँले २०८१ फागुन २६ मा पूरा गर्ने गरी भवन निर्माणकाे ठेक्का लिएको छ । यसअघि गत फागुन २० गते सभामुख देवराज घिमिरेले नगर अस्पतालको एउटा भवन उद्घाटन गरेका थिए ।

नगरबासीको सुविधाका लागि निर्माण भएको नगर अस्पतालमा हरेक दिन दुई सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । नगर अस्पतालमा डाइलोसिस सेवा पनि उपलब्ध छ ।

आगामी दिनमा नगर अस्पतालको सेवालाई विस्तार गर्ने उद्देश्य राखेर पूर्वाधार निर्माणमा जोड दिइएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीकाे अध्यक्षतामा शिलान्यास समाराेह भएको हो । तीन तले अस्पताल भवन २८ हजार ९६१ स्क्वायर फिटकाे हुने नगरका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।

भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुनेछ । नगर अस्पतालमा अहिले एक जना एमडीजीपी, तीन जना एमवीवीएस डाक्टर सहितको सेवा उपलव्ध छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार ००:००  ९ : ३७ बजे