बिर्तामोड-नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध लागेको नभई कहीँकतै एमाले नेतृत्वलाई फसाउन सकिन्छ कि भनेर अग्रसर रहेको बताएका छन् ।
प्रचार तथा प्रकाशन विभागले मंगलवार बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै भट्टराईले एमालेविरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको षडयन्त्र सफल नहुने बताए ।
उनले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबैखाले एमाले विरोधी गतिविधि असफल हुने ठोकुवा गरे ।
झापाका अगुवा पत्रकारहरुको सहभागिता रहेको भेलामा इञ्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकतावद्ध ढंगबाट प्रतिकार गर्नुपर्ने बताए ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष दीपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिवद्धता जनाए । उनले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताएका हुन् ।
प्रेस चौतारीका कोसी प्रदेश इञ्चार्ज गणेश पोखरेल, पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङगेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आवद्ध सदस्यहरुले प्रभावकारी प्रचारप्रसारका बारेमा सुझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।