२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

नमोबुद्ध युवा क्लब सप्तरी बिर्तामोडमा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा



बिर्तामोड- नमोबुद्ध युवा क्लब सप्तरी झापाको बिर्तामोडमा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा गाइघाट फुटबल क्लव उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।

सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औँ मिनेटमा निकिता थोकरले पहिलो गोल गरेकी छन् । खेलको ५६ औँ मिनेटमा रश्मी घिसिङले गोल गर्दै टीमलाई २–० गोल अन्तरको जित दिलाएकी हुन् ।

घिसिङ ‘प्लेयर्स अफ दी म्याच’ घोषित भएकी छन् । उनले नगद तीनहजार पुरस्कार पाइन् । उनलाई राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गरेका छन् ।

नमोबुद्ध सप्तरीले अब उपाधिका लागि ‘अल इन वान’ क्लब बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५-१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको फाइनल खेल १६ गते शनिबार हुने छ ।

फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार ००:००  ८ : ५२ बजे