१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

रंगशालाको जमिन फिर्ता ल्याउन सामुहिक प्रयास आवश्यक : सभामुख



बिर्तामोड-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताएका छन् ।

शनिवार झापा गोल्डकपको उद्घाटन गर्दै सभामुख घिमिरेले कानुनी अप्ठ्याराहरु भए एकवर्षभित्र संशोधन गरेर भए पनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने बताए ।

प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै सभामुख घिमिरेले आगामी संस्करण आफ्नै जमिनमा गर्ने मानसिकता बनाउन आग्रह गरे । उनले रंगशालाको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए ।

कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । धुलाबारीको इस्ट होराइजन स्कुलका विद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ००:००  ४ : ०७ बजे