७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

अलैँचीको मूल्य बढेपछि व्यवसायी उत्साहित



झापा- अलैँचीको भाउ बढेपछि व्यवसायी उत्साहित भएका छन् । भाउ वृद्धिको खबरले किसानमा पनि उत्साह थपिएको छ । मूल्य श्रृङ्खलामा अलैँचीले यसवर्ष एकपछि अर्काे रेकर्ड बनाउँदै लगेको हो ।

नेपाल अलैँची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले अलैँचीको मूल्यमा उत्साहजनक बृद्धि भएको बताए । अहिले प्रतिमन (४० किलो) अलैँचीको मूल्य ६० हजार छ । ६० देखि ७० हजारको बीचमा केही समयदेखि मूल्य स्थिर देखिएको छ ।

नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाका अनुसार प्रतिकिलो १५०० सय रुपैयाँका दरले साढे आठ लाख किलो अलैँची बिक्री भइसकेको छ ।

मूल्यका हिसावले एक अर्व २७ करोड ५० लाख रुपैयाँको अलैँची बिक्री भएको हो । चरम आर्थिक संकटको सामना गरेका व्यवसायी चालु आर्थिक वर्षको पहिलो महिनामा भएको निर्यातले अलैँचीको भाउ अझै उकालो लाग्ने आशामा छन् ।

मेची भन्सार कार्यालयका अनुसार गतवर्ष काँकडभिट्टा नाका हुँदै आठ अर्व २४ करोड भन्दाबढी मूल्यको अलैँची निर्यात भएको थियो । व्यापार घाटा कम गर्ने एउटा भरपर्दाे कृषिजन्य उत्पादनका रुपमा अलैँची सूचीकृत भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ३ : ५६ बजे