१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

महिला उद्यमी संघद्वारा कपुर बत्ती सम्बन्धी दुई दिने तालिम आयोजना



बिर्तामोड-महिला उद्यमी सङ्घ नेपालले व्यावसायिक सीप तथा क्षमताको विकासका लागि कपुर वत्ती सम्बन्धी दुई दिने तालिम आयोजना गरेको छ ।

महिलाहरूमा उद्यमशीलताको विकास गरी आयआर्जनको बाटोमा अग्रसर बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमी संघले फागुन २९ र ३० गते तालिम आयोजना गरेको हो ।

बिर्तामोड नगरपालिका दुई नम्बर वडा कार्यालयको सहयोगमा सङ्घले आयोजना गरेको तालिममा विभिन्न टोल विकास संस्थाका तर्फबाट एकजनाका दरले ३२ जना प्रतिनिधि महिला सहभागी भएका छन् ।

कपुर बत्ती तालिमपछि आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भरताको बाटोमा अग्रसर हुन महिला उद्यमी सङ्घकी अध्यक्ष सुष्मा भण्डारीले आग्रह गरेकी छन् ।

तालिम समापन समारोहका प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पौडेलले महिलाले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि वडाले समेत सहयोग गर्ने विश्वास दिलाउँदै आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए ।

तालिममा सहभागी महिलाहरूले समाजका सदस्यहरूको सकारात्मक हौसला र प्रेरणाले महिलाहरूलाई अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागि सहयोगको अपेक्षा गरेको बताएका छन् ।

तालिमको सहजीकरण प्रशिक्षक निर्मला चौहानले गरेकी थिइन् ।संस्थाकी बरिष्ठ उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत मन्तब्य राखेकाे कार्यक्रमकाे सञ्चालन महासचिव यमुना तिवारीले गरेकी थिइन् ।

तालिम समापन समारोहमा वीरअमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी, कार्यपालिका सदस्य तीला गौतम, वडा सदस्य शर्मिला त्रिखत्री, पत्रकार सुब्रत न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रमका अवसरमा महिला उद्यमी संघले केक काटेर नवौं स्थापना दिवस पनि मनाएको छ । कार्यक्रममा संघकी संस्थापक अध्यक्ष गोमा भट्टराई लगायत सङ्घका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  १० : ५७ बजे