बिर्तामोड-पूर्व विद्यार्थी समाज कविशिरोमणि मावि मेचीनगर ९ ले विद्यालयका सेवा निवृत्त दुईजना शिक्षक शिक्षिकालाई शनिबार सम्मान गरेको छ ।
समाजकाे प्रथम वार्षिक साधारण सभाको अवसर पारेर शिक्षक लोहितप्रसाद चापागाईं र शिक्षिका मीरा पोखरेललाई सम्मान गरिएको हो ।
अविच्छिन्न लामोसमय शिक्षण अभ्यासमा जीवन समर्पित गरेका शिक्षक शिक्षिकालाई सम्मान गरिँदै आएको पूर्व विद्यार्थी समाजका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
मेचीनगर वडा नम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच चापागाईं र पोखरेललाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको हो ।
सम्मानपछि बोल्दै सेवा निवृत्त शिक्षक चापागाईंले २८ वर्षको अवधिमा पहिलोपटक आफूले सम्मानित हुने अवसर प्राप्त गरेको जनाउँदै पूर्व विद्यार्थी समाजका अध्यक्ष न्यौपाने सहितलाई धन्यवाद दिए ।
सम्मान ग्रहणपछि शिक्षिका पोखरेलले शिक्षक कहिल्यै पूर्व नहुने बताउँदै आफूमा भएको ज्ञान सधैं बाँड्न सकिने धारणा व्यक्त गरिन् ।
समाजको अध्यक्षमा छानिए पाठक
पूर्व विद्यार्थी समाजको अध्यक्षमा भूपेन्द्र पाठक छानिएका छन् । यसअघि झापाका अग्रज पत्रकार समेत रहेका सुब्रत न्यौपाने पूर्व विद्यार्थी समाजको अध्यक्ष थिए ।
शनिवार समाजको नयाँ नेतृत्व चयन भएको हो । उपाध्यक्षमा ईश्वर घिमिरे र सचिवमा पवित्रा आचार्य चयन भएका छन् । सहसचिवमा आशिष पौडेल र कोषाध्यक्षमा उदय शिवाकोटी छन् । सदस्यहरुमा सुबोध चौंलागाईँ, होमनाथ पौडेल, बिष्णु घिमिरे र दिवस भण्डारी छन् ।
नवनिर्वाचित समितिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता थापा, प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष चूडामणि रेग्मी, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष लीलाप्रसाद भण्डारी लगायतले बधाई तथा शुभकामना दिएका छन् ।