भद्रपुर-झापाको भद्रपुरमा आजबाट अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा खेल सुरु भएको हो । खेलमा २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एक एक अंक भएको छ ।
खेलको २८ औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए ।
खेलको ६२ औँ मिनेटमा बिर्तामोडका रोमन भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औँ मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरी भएको थियो ।
आजको खेलको प्लेयर अफ दि म्याच हल्दिबारीका हिरण राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता तीर्थराज ढकालले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।
प्रतियोगितको उद्घाटन पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल र मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी १५ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।