बिर्तामोड- विद्यालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर घाइते भएका आठ वर्षीय तान्छोक लिम्बूको उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको छ । बिहान १०ः३० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको हो ।
झापाको धुलाबारीस्थित सानो साथी किन्डर गार्डेनको सेप्टिक ट्यांकमा खसेर उनी घाइते भएका थिए । तत्काल उपचारका लागि उनलाई बीएण्डसी अस्पताल भर्ना गरिएको थियो ।
सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।
विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए ।
गुरुङ पक्राउ
पक्राउ परेका विद्यालय सञ्चालक गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार जाहेरी के शीर्षकमा पर्छ, त्यहीअनुसार गुरुङमाथि कारबाही अघि बढाइनेछ ।
बालकको निधनपछि अप्रिय घटना हुन नदिन विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।