झापा– इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’को आततायी आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा परी १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । आक्रमणमा दुई जना नेपाली घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन् ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार सो घटनामा मृत्यु हुनेहरूमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपालीलगायत रहेका छन् ।
त्यसैगरी सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी पुलिसको सुरक्षामा रहेको जनाइएको छ । खुट्टामा चोट लागेका सल्यानका विधान सेजवाल र दाङका प्रवीन डाँगी अस्पतालमा भर्ना भएका छन् ।
मृतकहरूको नामावली
नारायणप्रसाद न्यौपाने, कैलाली
गणेशकुमार नेपाली, बझाङ
आशीष चौधरी, कैलाली
दिपेशराज विष्ट, दार्चुला
आनन्द साह, धनुषा
राजेशकुमार स्वर्णाकार, सुनसरी
राजन फुलारा, डोटी
पदम थापा, डोटी
प्रवेश भण्डारी, सल्यान
लोकेन्द्रसिंह धामी, दार्चुला
परराष्ट्र मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सेवा लम्सालले उक्त घटनामा मृत्यु भएका र घाइते भएका नेपालीहरूबारे थप जानकारी लिने काम भइरहेको बताए । उनका अनुसार स्वदेश र विदेशमा रहेका सबै संयन्त्र प्रयोग गरेर आक्रमणमा परेका नेपालीको यकिन तथ्यांक लिने र उद्धार गर्ने काम भइरहेको छ ।
यसै गरी गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापाले उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको र एनसीसी इजरायललाई घाइतेको अवस्था र सहयोग गर्न निर्देशन दिएको बताइन् ।
आक्रमणमा परेका नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार र सरकारबीचको सम्झौता जीटूजी अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू आक्रमणमा परेका हुन् ।
इजरायलमा अहिले करिब आठ सयजति नेपाली कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ । गाजा क्षेत्रको कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ १७ जना नेपाली काम गरिरहेको एनआरएनएले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार हाल इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा २ सय ६५, कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएका छन् ।