झापा-सहमति अनुसार ज्याला नपाएपछि झापाका चिया श्रमिक आन्दोलनको तयारीमा जुटेका छन् । श्रम ऐनले तोके अनुसारको ज्याला दिन चिया उद्यमी तयार नभएपछि श्रमिकले चैतदेखि आन्दोलनको तयारी गरेका हुन् ।
चैतदेखि चिया क्षेत्र ठप्प पार्ने तयारी भइरहेको श्रमिक नेता दीपक तामाङले बताए । ‘सहमति अनुसार ज्याला नपाएपछि अब आन्दोलनमा जानुको विकल्प छैन्’, सोमवार झापाको बिर्तामोडमा आयोजित संवाद समूहको कार्यक्रममा नेता तामाङले भने ।
चिया क्षेत्रका समस्या र सवाल विषयक कार्यशालामा सहभागी भएका श्रमिक नेता भुपाल सापकोटा पनि ऐनले तोकेको ज्याला दिन उद्योगी तयार नभए चैत १ देखि चिया क्षेत्रमा हड्ताल गर्नुको विकल्प नभएको सुनाउँछन् ।
श्रम ऐन अनुसार हरेक दुई वर्षमा चिया मजदूरको ज्याला पुनरावलोकन हुनुपर्छ । अहिले पूर्वी नेपालका चिया बगानमा काम गर्दै आएका मजदूरले दैनिक ४३४ रुपैयाँ ज्याला पाउँदै आएका छन् ।
‘अहिले पाउँदै आएको ज्यालाले दुई छाक खान पनि नपुग्ने अवस्था छ’, नेता सापकोटाले भने, ‘सिजनमा आन्दोलन गरेको आरोप लाग्छ हामीलाई । तर, यो हाम्रो बाध्यता हो । ’