झापा-भद्रपुर झापा गोल्डकपको आयोजनामा शनिवार मेची रंगशालामा भद्रपुर नगरपालिका भित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेल भएको छ ।
‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ लाई सार्थकता प्रदान गर्ने क्रममा मेची रंगशालामा छनोट खेल भएको हो ।
खेलमा भद्रपुरका सबै वडाबाट आएका करिब २५० खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएको आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार १४–१६ उमेर समूहबाट पहिलो चरणमा ५० देखि ५५ जना खेलाडी छनोट हुनेछन् । छानिएका खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण दिइने अध्यक्ष ढकालले बताए ।
छनोट खेल आगामी शनिवार १७–१९ उमेर समूहबीच पनि गराइनेछ । उनीहरु पनि ५५ जना छानिने छन् । दोस्रो चरणमा २५ खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराइनेछ ।
भद्रपुर झापा गोल्डकपको सशक्त आयोजक टीम तयार गर्ने उद्देश्यले ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’सञ्चालन गर्न लागिएको हो ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष एवम् वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’को नेतृत्वमा रहेको समितिले खेलाडी छानिरहेको छ ।
समितिमा गम्भीर राई, कर्ण लिम्बू, पूर्णमाया सुब्बा (पूनम), टेकबहादुर गुरुङ, मदन सुब्बा, भरत गुरुङलगायतको प्राविधिक टोलीले सहभागी छ ।
महासचिव जीवनकुमार श्रेष्ठले आगामी मंसिर–पुसतिर झापा जिल्लास्तरीय अन्तरपालिका लिग नकआउट प्रतियोगिताको तयारी भइरहेको बताए ।