१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एमालेको नारा : ‘वडा वडाः भावी युवा नेता’



झापा-नेकपा एमाले युवा संगठित अभियानमा लाग्ने भएको छ । वडा तहदेखि युवाको सहभागिता बढाउने गरी एमाले विशेष अभियानमा जुट्न लागेको हो ।

एमालेभित्र पाको उमेर समूह र तन्नेरी नेता कार्यकर्ताको संख्यामा असन्तुलन देखिदै आएको छ । पार्टीमा युवा आकर्षण र सहभागिता विस्तार गर्न एमालेले नयाँ अभियान थाल्ने योजना अघि सारेको हो ।

‘वडा वडाः भावी युवा नेता’ भन्ने नारा दिएर नयाँ कार्यक्रम गर्ने प्रस्ताव एमालेले गरेको छ । युवाहरुका बीचमा पार्टी कामको विस्तार हुने एमालेको विश्लेषण छ ।

अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एकतिहाइ सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यलाई संगठित गर्ने गरी युवालक्षित अभियान सञ्चालन गर्ने योजना एमालेले अगाडि सारेको हो ।

माघ फागुनमा सञ्चालन भएको मिसन ग्रासरुट अभियानले पहिचान गरेका, सम्भावना भएका र थप युवा पहिचान गरी नेतृत्व विकासको लागि पार्टी स्कुलको माध्यमबाट विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी एमालेको छ ।

एमालेले अहिलेका युवाहरु ‘आफैं नेता, आफैं प्रधानमन्त्री” जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिएकाले सम्भावना भएका युवाहरु पहिचान गरी उनीहरुको अपेक्षालाई समेत सम्बोधन गर्ने योजना बनाएको छ ।

पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सुरु गर्न लागिएको हो । प्रत्येक वडा– कम्तीमा १० युवा’ कार्यक्रममार्फत् ‘वडावडाः भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार ००:००  ७ : २० बजे