१ असार २०८३, सोमबार | Mon Jun 15 2026

स्वास्थ्य बिमा स्थगनपछि बीएन्डसीले घटायो उपचार शुल्क



बिर्तामोड– झापाको बीएन्डसी हस्पिटलले उपचार सेवा महँगो भएको गुनासो र स्वास्थ्य बिमा कार्यक्रम स्थगन भएपछि बिरामीलाई राहत दिने उद्देश्यले उपचार शुल्कमा परिमार्जन गरेको जनाएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सेवाको शुल्क घटाइएको जानकारी दिएको हो ।

अस्पतालका प्राध्यापक डा. बिपी दासले सरकारले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेपछि बिरामीले थप आर्थिक भार व्यहोर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै पूर्वनिर्धारित उपचार शुल्कमा कटौती गरिएको बताए ।

उनका अनुसार अस्पतालले सहज र सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ नयाँ शुल्क संरचना लागू गरेको छ ।बीएन्डसीले यसअघि उपचार सेवामा चर्को शुल्क लिएको आरोप खेप्दै आएको थियो ।

स्वास्थ्य सेवा महँगो भएको आलोचना भइरहेका बेला अस्पतालले शुल्क पुनरावलोकन गर्दै सेवा शुल्क घटाएको जनाएको हो ।अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवालाई प्राथमिकतामा राखेर अस्पताल सञ्चालन भइरहेको बताए।

उनका अनुसार सेवा विस्तारसँगै अस्पतालमा दक्ष जनशक्तिको संख्या पनि बढाइएको छ । हाल अस्पतालमा २२ वटा क्लिनिकल विभाग सञ्चालनमा छन् ।

१६ जना प्यारामेडिक्स, ६४ जना मेडिकल अफिसर, ८० जना लेक्चरर, ४ जना एसोसिएट प्रोफेसर, १५ जना प्रोफेसर तथा ३५६ जना दक्ष नर्सिङ जनशक्ति कार्यरत रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा सञ्चालन गर्दै आएको छ । रेडियोलोजी, क्लिनिकल पाथोलोजी तथा इन्टरभेन्सनल रेडियोलोजीलगायत अत्याधुनिक निदान तथा अनुसन्धानात्मक सेवा उपलब्ध रहेको अस्पतालको दाबी छ ।

अस्पतालले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत विभिन्न सेवा सञ्चालन गरिरहेको जनाएको छ । जनसम्पर्क अधिकारी गिरीका अनुसार मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराइँदै आएको छ । हालसम्म ७ हजार १८६ जना बिरामीले उक्त सेवाबाट लाभ लिएको अस्पतालको तथ्यांक छ ।

पत्रकार सम्मेलनमा अस्पताल प्रशासनले ‘सबै सेवा एउटै छानामुनि’ भन्ने अवधारणाअनुसार एकीकृत स्वास्थ्य सेवा प्रवाह गरिरहेको जनाएको थियो ।

यसैबीच, बीएन्डसी समूहअन्तर्गत सञ्चालित पूर्वाञ्चल क्यान्सर हस्पिटलले पनि पूर्वी नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. बीरेन्द्र यादवले उच्चस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने लक्ष्यसहित सेवा सञ्चालन भइरहेको बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार ००:००  ८ : ३६ बजे