१ असार २०८३, सोमबार | Mon Jun 15 2026

बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु



काठमाडौँ– नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरण का अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतको प्रसारण संरचना प्रयोग गरी जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि बंगलादेश पठाइनेछ ।

प्रतियुनिट ६.४० अमेरिकी सेन्ट दरमा हुने निर्यातबाट नेपालले पाँच महिनामा करिब १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । गतवर्ष यही अवधिमा नेपालले १४७ गिगावाट–आवर विद्युत् निर्यात गरी ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो ।

बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्न इच्छा देखाए पनि आवश्यक भारतीय स्वीकृति नपाएकाले यस वर्ष अतिरिक्त निर्यात सम्भव नभएको प्राधिकरणले जनाएको छ । हाल नेपालले भारत र बंगलादेशमा गरी कुल १,१६५ मेगावाट विद्युत् बिक्रीको स्वीकृति पाएको छ ।

नेपालको जडित विद्युत् उत्पादन क्षमता करिब ४,३०० मेगावाट पुगेको छ भने विद्युत् व्यापार विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार ००:००  ५ : ५२ बजे