झापा-शिवसताक्षी नगरपालिकाले असार ३ गतेदेखि भूमि प्रशासन (मालपोत) सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने भएको छ । सेवा सुरु भएपछि हालसम्म मालपोत कार्यालय दमकबाट प्रदान हुँदै आएका जग्गासम्बन्धी अधिकांश सेवा नगरपालिकाबाटै उपलब्ध हुनेछन् ।
नगरपालिकाले यसअघि आंशिकरूपमा सञ्चालन गर्दै आएको भूमि प्रशासन सेवा अब पूर्ण क्षमताका साथ सञ्चालन गर्न लागिएको जनाएको छ ।
नगरप्रमुख मेगाहाङ थोप्राका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि छनोट भएका देशभरका ३५ पालिकामध्ये शिवसताक्षी पनि एक हो ।
उनले जग्गासम्बन्धी कामका लागि दमक पुग्नुपर्ने बाध्यता अन्त्य हुने बताए । ‘जग्गा किनबेच, नामसारीलगायत कामका लागि नागरिकले समय र अतिरिक्त खर्च व्यहोर्नुपर्थ्यो’, उनले भने, ‘अब आफ्नै नगरपालिकाबाट सेवा पाउने व्यवस्था मिलाइएको छ ।’
भूमि प्रशासन सेवा प्रमुख डिल्ली नेपालका अनुसार राजीनामापास, हकहिस्सा, दर्ताफारी, संगोलनामा, छोडपत्र, दानपत्र, बकसपत्र, अंशबन्डा, करारनामालगायत एलआईएन (LIN) नम्बर प्राप्त धनीपुर्जासम्बन्धी सेवा नगरपालिकाबाटै उपलब्ध हुनेछन् ।
एलआईएन नम्बर नभएका धनीपुर्जाको हकमा भने प्रारम्भिक चरणमा एकपटक मालपोत कार्यालय दमक पुग्नुपर्ने अवस्था रहेको उनले बताए। आगामी दिनमा उक्त सेवा पनि स्थानीय तहबाटै उपलब्ध गराउने तयारी भइरहेको उनको भनाइ छ ।
नगरपालिकाले भूमि प्रशासन सेवा प्रयोग गरेबापत सेवाग्राहीबाट १ हजार ५ सय रुपैयाँ सेवा शुल्क लिने जनाएको छ । उक्त रकम नगरपालिकाको आन्तरिक राजस्वमा जम्मा हुनेछ । जग्गा रजिस्ट्रेसन शुल्क भने संघीय सरकारले तोकेको दरअनुसार नै लाग्नेछ ।
स्थानीय तहबाटै मालपोत सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले छिटो, सहज र कम खर्चमा सेवा पाउने नगरपालिकाको अपेक्षा छ ।

















