७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झापा प्रहरीद्वारा फरार तीन अपराधी पक्राउ



भद्रपुर-अलग–अलग मुद्दाका फरार तीन अपराधीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाईका फूर्वा साङ्वो शेर्पा, बाह्रदशीका सद्दाम हुसेन र दमकका भीमकुमार श्रेष्ठ रहेका छन् ।

अदालतका फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद लामिछानेले बताए । तीनै जनालाई मंगलवार कारागार चलान गरिएको छ ।

प्रहरीका अनुसार शेर्पा बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उच्च अदालत विराटनगरको इलाम इजलासले २०७८ चैत २ मा शेर्पालाई १० महिना कैद सजाय र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सवारी ज्यान मुद्दाका फरार अभियुक्त हुसेनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो । हुसेन चार वर्षदेखि फरार रहँदै आएका थिए ।

सात वर्षअघि चेक अनादर मुद्दामा दोषी ठहर गरिएका श्रेष्ठलाई इलाम इजलासले १० दिन कैद र एकलाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार ००:००  ९ : ०७ बजे