१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोसी प्रदेश मध्यावधि निर्वाचनको सम्मुखमा



झापा-कोसी प्रदेशमा फेरि नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको छ । प्रदेश सभामा बहुमत जुटाउने पटक–पटकको प्रयासमा कांग्रेस र एमाले असफल भएका छन् ।

मध्यावधि निर्वाचनको बढ्दो सम्भावना टार्ने प्रयासमा लागेको बताउँदै आएका दलहरुले दलीय हैसियतमा मुख्यमन्त्री बन्ने अवसर गुमाएका छन् ।

अब उपधारा १६८ (५) बमोजिम प्रदेशसभाको कोही पनि सदस्यले आफ्नो पक्षमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने परिस्थिति सिजना भएको छ ।

प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले सरकारका पक्षमा बहुमत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको हो । मंसिरमा आमनिर्वाचन भएयता कोसीमा अहिलेसम्म चार पटक सरकार फेरबदल भइसकेको छ ।

प्रदेश सरकार गठनका लागि संविधानको धारा १६८ का चार वटा व्यवस्थामध्ये तीन वटा प्रयोग भइसकेका छन् । अब उपधारा ५ बमोजिम प्रदेशसभाको कोही पनि सदस्यले आफ्नो पक्षमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने व्यवस्था छ ।

यदि यो व्यवस्थाबमोजिम समेत सरकार बन्न नसकेको अवस्थामा प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्ने हुन्छ ।

शनिबार विश्वासको मत जुटाउन नसकेर राजीनामा दिएका कार्कीलेसमेत आफूले प्रदेशसभालाई मध्यावधि निर्वाचनमा जानबाट जोगाउन पदबाट राजीनामा दिएको दाबी गरेका छन् ।

दलीय सहमति र सहकार्यबाट प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नुपर्ने भन्दै कार्कीले अरु दलले दलीय अडान नछाडेका कारण आफूले बहुमत जुटाउन नसकेको बताएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  ७ : ०८ बजे