२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

चारपाने स्वास्थ्य चौकी भवनको उद्घाटन



बिर्तामोड-झापाको बिर्तामोडस्थित चारपाने स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले भवन उद्घाटन गरेकी हुन् ‌।

गत जेठबाट स्वास्थ्य चौकी भवन सञ्चालनमा आएको थियो । स्थानीय समाजसेवी चन्द्रप्रसाद बजगाईंले दिएको सात कट्ठा जग्गामा स्वास्थ्य चौकी भवन बनाइएको हो ।

नगर प्रमुख प्रसाईले उदार मनका धनी बजगाईंको प्रयासले स्वास्थ्य चौकी भवन निर्माण सम्भव भएको बताउँदै उनलाई धन्यवाद दिएकी छन् ।

वडाध्यक्ष किशोरकुमार पौडेलले जग्गादाता बजगाईले गरेको सहयोग समाजले कहिले नबिर्सने बताए । अध्यक्ष पौडेलका अनुसार २०७१ सालमा बजगाईले जग्गा दान गरेका थिए ।

कार्यक्रममा सहभागी जग्गादाता बजगाईंले भने अपेक्षा गरे अनुसार अस्पताल निर्माण हुन नसकेको दुखेसो गरेका छन् । उनले अस्पतालको स्तरोन्नतिका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा जग्गादाता बजगाईं, शान्ता बजगाईं, चारपाने स्वास्थ्य चौकीका पूर्व इन्चार्ज शिवप्रसाद साह लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर अस्पतालका प्रमुख सुनिल अधिकारी, एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेल समाजसेवी भवानी पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यपालिका सदस्य शर्मिला त्रिखत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज तुलसी पोखरेलले गरेका थिए । वडा सचिव हिमा पोखरेलले स्वास्थ्य चौकीबाट सर्वसाधारणले सर्वसुलभ उपचार सेवा पाउने बताइन् ।

उद्घाटनका अवसरमा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शिविर समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ००:००  १० : २३ बजे