१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

चैत २९ मा झापा स्पोर्ट्स अवार्ड



बिर्तामोड-नेपाल खेलकुद पत्रकार मञ्चले चैत २९ गते पाँचौं ‘ झापा स्पोर्टस् अवार्ड’ आयोजना गर्ने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो ।

मञ्चकाे झापा शाखाले २०७३ सालदेखि स्पोर्टस् अवार्ड गर्दै आएको छ । हालसम्म चारवटा स्पोर्टस् अवार्ड आयोजना भइसकेको छ ।

फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा अवार्ड हुँदै आएको छ । मञ्चका अध्यक्ष इन्द्रजित मुखियाका अनुसार यसपटक वर्षका सात विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मान गर्ने गरी अवार्डको तयारी गरिएको हो ।

यसपटक खेल क्षेत्रमा योगदान पुऱ्याउने एकजना खेलकुद पत्रकारलाई समेत सम्मान गर्ने अध्यक्ष मुखियाले बताए ।मञ्चका निवर्तमान अध्यक्ष हिमाल खरेलका अनुसार खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका लागि खेलाडीको मनोनयन चैत २२ गते सार्वजनिक गरिनेछ ।

मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिँदै पूर्व अध्यक्ष खरेलले स्पेशल अचिभमेन्ट अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र उत्कृष्ट खेलकुद पत्रकार अवार्डको विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने जानकारी दिए ।

वर्ष खेलाडी पुरुष र महिला विजेतालाई नगद एक लाख र ट्रफी प्रदान गरिनेछ । युवा, प्रशिक्षक र पिपुल्स च्वाइस र स्पेशल अवार्ड विधाका विजेतालाई जनही २५ हजार र लाइफटाइम एचिभमेन्ट अवार्ड विजेतालाई नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार प्रदान गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १३ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

मञ्चका संस्थापक अध्यक्ष रमेश समदर्शी राई झापाली पत्रकारिताको इतिहासमा एउटा गौरवपूर्ण अवार्डको रूपमा झापा स्पोर्ट्स अवार्डले स्थान लिएको बताउँछन् ।

खेलप्रेमी, शुभेच्छुक र पत्रकारको सामूहिक प्रयासमा अवार्ड वितरण प्रारम्भ गरिएको जनाउँदै संस्थापक अध्यक्ष राईले यसलाई थप परिस्कृत बनाउँदै लैजाने बताए ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्‌ना भाइ फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा मञ्चलाई एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

सहारा अटोमोबाइल्स प्रालि र सहारा नेपाल बिर्तामोडले दुई लाख ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । अवार्डलाई भव्यरुपमा सफल बनाउन मञ्चका निवर्तमान अध्यक्ष हिमाल खरेललाई कार्यक्रम संयोजक बनाउने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

कार्यसमिति बैठकले सचिव चिरञ्जीवी घिमिरेको संयोजकत्वमा खेल प्रतिभा छनोट समिति गठन गरेको छ । सदस्यहरूमा पुष्प बराल र राजु पौडेल छन् । अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

उपाध्यक्ष प्रेम आचार्यको संयोजकत्वमा भूमिका सुब्बा र तीर्थ तिम्सिना सदस्य रहेको अतिथि सत्कार तथा स्वागत उपसमिति गठन गरिएको छ ।

कोषाध्यक्ष प्रकाश बानियाँको संयोजकत्वमा प्रेम आचार्य र तिलक योञ्जन सदस्य रहेको आर्थिक उपसमिति, सहसचिव भूमिका सुब्बाको संयोजकत्वमा रोहित काफले र आयुष निरौला सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति र कार्यसमिति सदस्य तिलक योञ्जनको संयोजकत्वमा भारती राई, सौरभ मुखिया, नारायण अर्याल, विष्णु श्रेष्ठ र सौरभ सुनुवार सदस्य रहेको प्राविधिक उपसमिति गठन गरिएको छ ‌।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ००:००  ७ : ५० बजे