बिर्तामोड-एभरेष्ट स्मार्ट बाल क्लव बिर्तामोडले मंगलवार झापाको अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
अर्जुनधारा–८ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा पुगेर बाल क्लवले ७५ जना बालबालिकालाई स्वीटरसहित कपी पेन्सिल लगायतका सामग्री वितरण गरेको हो ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रधानाध्यापक अनुप शर्माले बाल क्लवमार्फत ४५ हजार मूल्य बराबरको सामग्री वितरण गरिएको बताए ।
क्लवकी अध्यक्ष कृषा दुलालले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्न पाउँदा गौरव महसुस भएको बताइन् । उनले क्लवमार्फत यस्तो रचनात्मक कार्यक्रम गर्न पाएकोमा विद्यालयलाई धन्यवाद पनि दिइन् ।
अर्जुनधारा–८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोड लेडीको अभिभावकीय साथ रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले एउटा बिद्यालयले अर्को बिद्यालयलाई सहयोग गर्ने विषय आफैँमा प्रशंसनीय भएको बताए ।
कार्यक्रममा चन्द्रोदय प्राविका प्रधानाध्यापक टंकप्रसाद आचार्य, लायन्स अध्यक्ष निरु ओलीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् ।