काठमाडौँ-सुन तस्करी प्रकरणमा आफूमाथि कारबाही हुने भएपछि भारततर्फ भाग्न खोजेका माओवादी नेता कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
भारततिर भाग्न खोज्दा सीमा नाकाबाट हुने समातिएका हुन् । भैरहवा नाकाबाट भारततिर भाग्ने तयारीमा रहेका महरालाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको हो ।
महराले काठमाडौँ छोडेको खबर पाएपछि सीमा नाकामा आइतबारबाटै प्रहरी परिचालन गरिएको थियो । सोमबार बिहान भैरहवा नाका भएर भारततिर भाग्ने तयारीमा रहेका बेला उनी समातिएका हुन् ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले बुझाएको प्रतिवेदनसँगै महराले चलखेल सुरु गरेका थिए ।
गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइरहँदा समेत महरामाथि कारबाही होला कि नहोला भन्ने अनेकथरी आशंका पैदा भएका थिए ।