१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काँचा रुख काटेर बेच्ने सतासीधामका अध्यक्षसहित चार जना पक्राउ



बिर्तामोड- सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सतासीधाम सामुदायिक वन उपभोक्ता समूह झापा सतासीधाम ८ र माइ नगरपालिका इलाम ८ का अध्यक्ष हेमबहादुर थापा, शिक्षक समेत रहेका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका ४ जनाविरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ । वन कार्यालयले १ महिनाभित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ ।

डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा अन्यको समेत संलग्नता हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको बताएका छन् । वनभित्र ब्लक नं २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो ।

यस्तै ब्लक नं २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको ५ नं ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगोलाई रहेको छ ।

टुना र फाला गरेर जम्मा ७ सय क्यूफिट रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ । समूहकै पदाधिकारीको संलग्नता देखिएको भन्दै चालकले सिधै फर्निचरमा काठ पुर्याएकोसम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ८ : ४२ बजे