१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

भूकम्पमा डरलाग्दो मानवीय क्षति : कम्तीमा १४५ जनाको मृत्यु



झापा- जाजरकोटलाई केन्द्र बनाएर शुक्रवार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा कम्तीमा १४५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार करिब १ सय ४० जना घाइते भएका छन् ।

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा त्यति धेरै ठूलो मानवीय क्षति भएको हो । मृतकको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको छ ।

५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताएका छन् । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।

जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए । रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् ।

यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ७ : ५३ बजे