७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कोसीमा भेटियो हराइरहेका डाक्टर कोइरालाको शव



झापा– मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको भङ्गालोमा भेटिएको छ ।

झापाको दमक १ मा घर भई गत साउन २९ गतेदेखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए ।

सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा २ को कोशीको भङ्गालोमा मङ्गलबार दिउँसो फेला परेको हो ।

कोशीमा माछा मार्नेहरूले भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेका थिए ।

मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : ५० बजे