झापा-सरकारले चिनीको भाउमा देखिएको अनियमितता र मनलाग्दी रूपमा कायम गरिएको मूल्य नियन्त्रण गर्न चिनी खरिदको तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिलेको मूल्य र नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० हजार मेट्रिक टन चिनी खरिद गर्ने तयारी गरेको हो ।
सरकारले नेपाल र भारतीय सरकारबीच (जिटुजी) समझदारी गरेर चिनी खरिद गर्ने तयारी गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।
सरकारले ५० हजार मेट्रिक टन चिनी खरिदका लागि तयारी गरेको छ ।
व्यापारीहरूले नेपालमा उत्पादित चिनी सकिएको र भारतलगायतका अन्य देशबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल र बढेको ढुवानी भाडा तिरेर नेपालमा उत्पादित चिनीको दरमा बिक्री गर्न नसक्ने भन्दै मूल्य बढाउन परेको दाबी गर्दै आएका छन् ।
बजारमा अहिले चिनीको थोक मूल्य प्रतिकेजी ९९ रुपियाँ र खुद्रा मूल्य १०५ देखि ११० रुपियाँमा कारोबार भइरहेको छ ।
गोरखापत्रबाट