बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रभित्रका जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाले बुधबार बिर्तामोड-६ का जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
चिसोबाट जोगिन सहज होस् भन्ने उद्देश्य राखेर १४० जना जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुभाष भट्टराईले जानकारी दिए । कार्यक्रममा जेष्ठ नागरिकलाई भोजन समेत गराइएको छ ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्षहरू सूर्यप्रसाद कन्दङ्वा, अविरल कृष्ण खरेल लगायतको सहभागिता रहेको थियो ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । केही दिनअघि सहकारीले झापाको कचनकवल र बाह्रदशी गाउँपालिकामा पनि ब्ल्याङ्केट वितरण गरेको थियो ।


















