१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

आयोजक एकता स्पोर्टिङ क्लव सेमिफाइनलमा प्रवेश



बिर्तामोड-एकता स्पोर्टिङ क्लव चारपानेमा जारी दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

एकताले बद्रर्सलाई ४–२ गोल अन्तरले हराएको छ । खेलको सातौँ मिनेटमा एकताका सुशील राईले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । त्यस्तै, आशिषले खेलको १७ औँ, ३८ औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

ब्रदर्सका तर्फबाट २० औँ मिनेटमा भाइचुङ राई र २८ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच एकताका आशिष चापागाईं घोषित भएका छन् ।

प्रतियोगितामा झापाका आठवटा क्लवको सहभागिता रहेको क्लवका अध्यक्ष किरण पौडेलले बताए ।प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार ००:००  ८ : ०० बजे