१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिर्तामोडलाई हराउँदै अर्जुनधारा सेमिफाइनलमा



भद्रपुर–बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका प्रथम अन्तर पालिकास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । अर्जुनधाराले बिर्तामोडलाई ५–० गोल अन्तरले हराएको छ ।

खेलको १९ औँ र २८ औँ मिनेटमा निखिल तामाङले गोल गरेका छन् । त्यस्तै, ४२ औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७ औँ मिनेटमा राजेश दाहाल र ७४ औँ मिनेटमा प्रतिक कन्दङवाले गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच भएका अर्जुनधाराका निखिल तामाङ भएका छन् । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।

आजको अन्तिम क्वार्टर फाइनल खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । जितसँगै मेचीनगर पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।

मेचीनगरले गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । खेलको ७३ औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मीले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन्।

महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ००:००  ६ : ४१ बजे