बिर्तामोड-कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएका झापाको कनकाई–४ का सुवास राउत आफूले पुनर्जन्म पाएकोमा खुशी छन् । पीडित परिवारलाई ब्लड मनी बुझाएर मृत्युको कहालीलाग्दो सजायको सामुन्नेबाट घर फर्किएका राउतले आइतवार आफूलाई बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
एउटै कोठामा बस्दै आएका खोटाङको ऐसेलुखर्कका लामाकाजी राईको हत्या गरेको अभियोगमा राउतलाई कतारको अदालतले तीन वर्ष कैद, मृत्युदण्ड वा ९० लाख रुपैयाँ ब्लड मनीको फैसला सुनाएको थियो । तर, १५ लाख रुपैयाँ मात्र ब्लड मनी दिइएको हो । कतार अदालतले तोके बमोजिम ब्लड मनी बुझेको पीडित परिवारको सनाखतपछि राउत मुक्त भएका हुन् ।
कामबाट फर्किएर नुहाउन गएका राउत कोठामा आइपुग्दा राईलाई छुरी हानेर लडाइएको थियो । उनका अरु साथी भागिसकेका थिए । तर, आफूले गल्ती नै नगरी अपराध स्वीकार्नु पर्ने बाध्यता आइलागेको राउत बताउँछन् । उनले आफूलाई फसाइएको दावी गरेका छन् । ‘नुहाएर फर्किदा साथीलाई छुरी हानेको रहेछ, अरु साथी भागिहाले । मलाई फसाइयो’, उनले भने ।
पीडित परिवारले ब्लड मनी लिन स्वीकार गरे मृत्युदण्डबाट जोगिन सक्ने कतारको स्थापित कानुनी मान्यता छ । त्यसका आधारमा राई परिवारलाई १५ लाख रुपैयाँ ब्लड मनी बुझाएर राउत कतारको जेलबाट मुक्त भएका हुन् ।
कतारको जेलमा तीन वर्ष तीन दिन बिताएका राउतलाई मृत्युदण्डबाट बचाउन कनकाई नगरमा ब्लड मनी संकलन अभियान नै चलाइएको थियो । अभियानमार्फत संकलन भएको रकम पीडित राई परिवारलाई दिएर राउतलाई जेलमुक्त गर्दै मृत्युदण्डबाट बचाइएको अभियानका संयोजक पूर्व अध्यक्ष गोविन्दप्रसाद पौडेल बताउँछन् ।
कतार अदालतले ९० लाख रुपैयाँ ब्लड मनी तोकेपनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाखमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाईँले बताए ।


















