१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोसीमा देखिएको सत्ता संकटको सकस



झापा-कोसीमा देखिएको सत्ता संकटको सकस सत्तारुढ दलको कावु भन्दाबाहिर जाने परिस्थिति निर्माण भएको छ । मुख्यमन्त्री उद्धव थापालाई कुनै हालतमा विश्वासको मत लिन नदिने प्रतिपक्षी दलको रणनीतिक राजनीतिक अभ्यास पटाक्षेप भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी समेतको साथ र सहयोगमा नेकपा एमालेले आफ्ना जेष्ठ सदस्यलाई सोमवार प्रदेश सभामा अनुपस्थित गराउने योजनासहित अघिल्लै दिन बिदामा बस्न लगाइसकेको छ । राप्रपा सांसद पनि बिदामा बसेका छन् ।

उपसभामुख उपस्थित भए मुख्यमन्त्री थापाले विश्वासको मत हासिल गर्छन् । तर, एमालेले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख सृजना दनुवारलाई अनुपस्थित गराउने तयारी गरेको छ ।

सभामुखले यसअघि थापालाई मुख्यमन्त्री बन्न सहज हुने गरी राजीनामा गरिसकेका छन् । उपसभामुख अनुपस्थित हुँदा सत्ता पक्षका जेष्ठ सांसदले बैठकको अध्यक्षता गर्नुपर्छ । अध्यक्षता गर्ने सदस्यले मत हाल्न नपाउने कानुनी व्यवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा ४७ जना छन्, जुन बुहमत मात्रै हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक र राप्रपाका ६ जना सांसद छन् । अंक गणितका हिसावले पनि थापालाई बहुमत हासिल गर्न मुस्किल छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । उनले उपसभामुख अनुपस्थित भए बैठक अनिश्चित हुने जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ८ : ३२ बजे